श्रीमद्भगवद्गीताको अध्ययन किन गर्ने ?
श्रीमद्भगवद्गीता कुनै साधारण ग्रन्थ वा पुस्तक मात्र होइन । यसलाई केवल एउटा किताबको रूपमा सीमित गरेर बुझ्न खोजियो भने गीता वास्तवमै के हो भन्ने कुरा हामीले कहिल्यै गहिराइमा बुझ्न सक्दैनौँ । गीता पढ्नु भनेको त्यहाँका शब्दहरू पढ्नु मात्र होइन । गीता बुझ्नु भनेको जीवनलाई बुझ्नु हो । गीता जान्नु भनेको आफूलाई जान्नु हो । त्यसैले गीता ज्ञान प्राप्त गर्न चाहने जिज्ञासुहरूले सबैभन्दा पहिले एउटा अत्यन्तै महत्त्वपूर्ण शब्दलाई स्पष्ट रूपमा बुझ्नुपर्छ, त्यो हो ‘धर्म’ ।हामीले दैनिक जीवनमा ‘धर्म’ शब्द सुन्दा प्रायः त्यसलाई कुनै न कुनै अमुक समुदाय वा पहिचानसँग जोडेर बुझ्ने गरेका छौँ । हिन्दू धर्म, बौद्ध धर्म, ईसाई धर्म, इस्लाम धर्म जस्ता शब्दहरू हाम्रो कानमा सामान्य भइसकेका छन् । तर गहिरिएर हेर्दा यी सबै वास्तवमा धर्म होइनन् । यी त पन्थ हुन्, सम्प्रदाय हुन्, जीवन जिउने अलग अलग मार्गहरू हुन् । ती मार्गहरूको विशिष्ट अस्तित्वको औचित्य छ । तिनीहरूले मानिसलाई अनुशासन, आस्था र दिशा निर्देश गर्दछन् र सही अर्थमा धर्मको बाटो पहिचान गर्न सहायता गर्दछन् । तर धर्म भनेको ती सबैभन्दा माथि रहेको, सबैलाई समाहित गर्ने, कुनै सीमामा नबाँधिने सार्वभौम सत्य हो ।

